Sunday, May 31, 2009

मध्य पहाडी राजमार्ग: नयाँ नेपालको आधार

नरेन्द्र केसी'कुनै पनि देशको विकासका लागि सडक संरचना एउटा आधारभूत संरचना हुने गर्छ। हाम्रो देश यसै पनि भौगोलिक दृष्टिकोणले अलि विकट भएको हुनाले सडक संरचनाको महत्व अरु ठाउँको भन्दा हामी कहाँ बढी रहेको छ। यस दृष्टिकोणले सडक संरचनाको सञ्जालले देशलाई सानो इकाईमा बदल्नुपर्छ। अनिमात्रै विकासको गतिलाई हामी गुणात्मक रुप दिन सक्छौं। त्यसकारण हामीले सडक भन्दाखेरी अहिले मधेश/तराईमा एउटा पूर्व–पश्चिम मुख्यमार्ग छ, हामी के ठान्छौं भने एउटा मूलबाटो महाभारत रेञ्जबाट पनि पूर्व–पश्चिम जोडिनुपर्छ र ती दुई वटै मुख्यमार्गहरूलाई बीचबीचमा लिंकरोडले जोडियो भने नेपाल एउटा इकाईमा परिणत हुन्छ र तराईको अन्नबाली केही घण्टाभित्रै हुम्ला, जुम्ला, कर्णाली पुर्‍याउन सक्ने र कर्णालीका फलफूलहरू झापा, विराटनगर पुर्‍याउन सक्ने स्थिति बनिसकेपछि विकासमा एउटा दू्रतता र तीब्रता ल्याउन सकिन्छ। फेरि अहिले जनसंख्याको चाप जसरी दक्षिणतिर बढ्दै गएको छ, त्यहाँ यातायातको सुविधा इत्यादिका कारणले हामीले यो सडक संरचनालाई हिमाली र महाभारत पर्वत शृंखलामा पुर्‍याउन सक्यौं भने मान्छेहरू एकदमै गर्मी ठाउँमा बस्नुभन्दा यतापट्टी बस्न रुचाउने पनि हुनसक्छन् र जनताको घनत्व पनि विस्तारै पहाडतिर सर्छ। यसरी सन्तुलित विकासका निम्ति पूर्वाधार तयार गरेर नै नयाँ नेपाल निर्माण गर्न सकिन्छ भन्ने हाम्रो योजना हो। त्यसकारण पनि सडक संरचनालाई हामी प्राथमिक संरचनाको रुपमा लिन्छौं। अहिले त हामी अन्तरिम सरकारमा मात्रै गएका छौं, संविधानसभाको निर्वाचनपछि सरकारमा पुगेपछि हामीले गर्ने पहिलो काम सडक निर्माण नै हुनेछ। हामीले लाखौं बेरोजगार युवाहरूलाई परिचालन गरेर हाम्रै बलमा पनि केही वर्षभित्र सडक संरचनाको सञ्जाल तयार गर्न सक्छौं र सक्नुपर्छ, किनकि त्यो नयाँ नेपाल र नयाँ विकासका निम्ति आधारभूत आवश्यकता हो।' यो राजमार्ग निर्माण सम्पन्न भएपछि एक मात्र राजमार्गको रहेको महेन्द्रनगरदेखि झापासम्मको तराईको राजमार्ग देशको विकल्पहीन राजमार्ग हुने छैन।  मध्य पहाडी राजमार्गले पूर्व इलामको पशुपतिनगरदेखि पश्चिम बैतडीको झुलाघाटसम्म जोड्नेछ। पुल्चोक इञ्चिनियरिङ क्याम्पसका सहप्राध्यापक जगत श्रेष्ठ भन्नुहुन्छ– 'नयाँ नेपालको एकीकरणका लागि अहिले भएको पूर्वपश्चिम मुख्य सडकमार्गको समानान्तर मध्य पहाडी सडकमार्ग १ हजार ७ सय किलोमिटर लामो हुने छ। यसको आधा सडक लम्बाई नयाँ र भएका सडकहरूको स्तरोन्नति गर्नुपर्ने छ भने आधा जति चालु सडककै खण्डहरू पर्दछन्।' इलामको पशुपतिनगरबाट शुरु हुने यो राजमार्ग पाँचथर, तेह्रथुम, धनकुटाको लेगुवाघाट, भोजपुर, खोटाङ, हिलेपानी, सुनकोशीको बायाँ किनारा, रामेछाप, सिन्धुलीको खुर्कोट, धुलीखेल, काठमाडौं, मुग्लिन, पोखरा, बाग्लुङ, बुर्तिवाङ, रोल्पाको माथिल्लो भेग, रुकुमको साँख, मुसीकोट (चाँपा), सल्यानको सल्लीबजार, जाजरकोट, सुर्खेतको छिञ्चु बजार, कर्णाली मार्गको दैलेख, बेलखेत, अछामको मंगलसेन, डोटीको सिलगडी, डडेल्धुराको स्याउले, बैतडीको पाटन, दशरथचन्द्र नगरपालिका हुँदै झुलाघाटमा गएर अन्त हुने छ। यसै आर्थिक वर्षदेखि निर्माण शुरु भएको यो राजमार्ग निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्ने सडक विभागका महानिर्देशक तुलसीप्रसाद सिटौलाले जानकारी दिनुभएको छ। हाल पाँचैवटा विकास क्षेत्रका विभिन्न खण्डमा पर्ने ७ सय किलोमिटरको ट्रयाक खोल्ने काम शुरु भएको छ। बाँकी १ हजार किलोमिटर सडक यसअघि नै बनिबनाउ छ। सर्भे, नाप नक्सा तयार भएर ट्रयाक खोल्ने काम शुरु भएको उहाँको भनाई छ। यो राजमार्ग निर्माण पूरा गर्न २३ अर्ब ५० रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यसमा ट्रयाक खोल्न १० अर्ब, पुल निर्माण गर्न १० अर्ब र कालोपत्रे गर्न ३ अर्ब ५० करोड लाग्ने सडक विभागको प्रारम्भिक अनुमान छ। त्यसका लागि सरकारले बैदेशिक सहायता जुटाउन पनि पहल गरिसकेको छ। जसमा जर्मन सरकारले १० अर्ब सहयोग दिने संकेत देखाएको छ भने बाँकी रकम सरकारको स्रोतको ब्यहोर्ने योजना रहेको छ। नेपाल सरकारले यसपालि ५ करोड रुपैयाँ निकासा गरिसकेको छ भने नयाँ बजेट आएपछि थप रकम विनियोजित हुने विश्वास गरिएको छ।  यो राजमार्ग बनेपछि तराईमा रहेको राजमार्गमात्र विकल्पहीन हुने छैन। कुनै सानो बहानामा राजमार्ग बन्द गराउने र लाखौं जनतालाई पीडा दिने खेल समाप्त हुने छ। त्यस्तै सडक सञ्जालको मूलधारमा तराई मात्र होइन पहाड र हिमाल पनि जोडिने छ। यसले गर्दा तराइको खाद्यान्न केही घण्टापछि नै पहाड हिमालतिर र पहाड हिमालका फलफूल र जडीबुटी केही घण्टामै तराईका जिल्लाहरूमा पुग्ने छ। त्यस्तै यो राजमार्गबाट उत्तरी छिमेकी देश चीनसम्मका लिंक रोडहरू जोडिए भने हामी भारतमा मात्र आश्रित हुनुपर्ने छैन। माओवादीले तयार गरेको खाकामा मध्यपहाडी राजमार्गको बैतडीबाट दार्चुला हुँदै ताक्काकोट, कर्णाली राजमार्गको कालीकोट, जुम्ला, गमगडी, सिमीकोट हुँदै हिल्सा, गमगडीबाटै नमजाला, बाग्लुङ–जोमसोमहुँदै लामोमाङथाङ, गोरखाहुँदै लार्के, धुञ्चेहुँदै केरुङ, चरीकोटहुँदै लामाबगर, सोलु सल्लेरीहुँदै सनपाला, खाँदवारीहुँदै किमाथान्का र ताप्लेजुङहुँदै ओलाङचुङगोला गरी चीनतिर दश वटा थप नाका खोल्ने संभावना प्रष्ट्याइएको छ। यसले चीनको विकासलाई बुझ्ने र त्यहाँको उत्पादन सस्तो मूल्यमा भित्र्याउने काम निकै सहज हुने छ भने भारत र चीनसँगको समदूरी विकास गर्न महत्वपूर्ण भूमिका निर्र्वाह गर्ने छ।  यो राजमार्ग निर्माण कार्य सम्पन्न भएपछि राप्तीवासीले देशका दुई महत्वपूर्ण राजमार्ग आफ्नै अञ्चलमा पाउने छन्। रोल्पा रुकुमहुँदै मध्य पहाडी राजमार्ग जाने छ भने दाङहुँदै हालको पूर्वपश्चिम तराई राजमार्ग चलिरहेको छ। यसले विकासमा पिछडिएको राप्तीलाई एकैसाथ दुई राजमार्गमार्फत विकासको मूलधारमा जोड्ने छ। त्यसका साथै राप्ती एउटा यातायातको राम्रो ट्राञ्जिट प्वाइन्ट बन्ने छ। राप्तीमा हाल चालु रहेका र निर्माणाधीन रहेका दुई महत्वपूर्ण राजमार्गलाई एकैसाथ केन्द्रीय राजमार्गमा जोड्ने काम मध्यपहाडी राजमार्ग र हालको पूर्वपश्चिम राजमार्गले गर्नेछन्। अमिलिया–रुकुम राप्ती राजमार्ग र घोराही–थवाङ शहीद मार्गले यी दुबै राजमार्गलाई छुनेछन्। अमिलियामा तराई राजमार्ग छाडेर शुरु भएको राप्ती राजमार्गले रुकुमको बैरागीठाँटीमा मध्यपहाडी राजमार्गलाई छुने छ भने लमहीमा तराई राजमार्गलाई छाडेर घोराहीदेखि शुरु भएको शहीदमार्गले थवाङमा केही माथि मध्य पहाडी राजमार्गलाई भेट्ने छ। त्यस्तै भालुवाङबाट सुलीचौरहुँदै थवाङसम्म जाने सडक निर्माण सम्पन्न भयो भने तीन वटा सडकले मध्य पहाडी तथा तराई राजमार्गलाई छुने छन्। यी तीनवटै राप्तीका लागि लाभदायक लिंक रोड हुने छन्। पूर्वपश्चिम–तराई राजमार्गले दाङको, राप्ती राजमार्गले सल्यान तथा रुकुमको केही भाग, भालुवाङ–प्यूठान–लिवाङ सडकले प्यूठान र रोल्पाको केही भागलाई जसरी सेवा पुर्‍याइरहेेको र यसक्षेत्रको जीवनस्तर माथि उकासेको छ, निश्चय नै मध्य पहाडी राजमार्ग निर्माण सम्पन्न भयो र त्यसलाई तराई राजमार्गसँग जोड्ने राप्ती राजमार्ग, शहीद मार्ग र भालुवाङ–सुलीचौर–थवाङ सडकले पूर्णता पायो भने राप्तीको मुहार फेरिने छ अनि शुरु हुने छ, नयाँ राप्ती निर्माण र त्यसले मद्दत गर्नेछ नयाँ नेपाल निर्माणलाई।

0 comments: